ट्रेन्डिङ

पत्रकार महासंघ मधेश प्रदेश र गुठी संस्थानबीच जग्गा लिग सम्झौता

जनकपुरधाम । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश र गुठी संस्थानबीच एक ऐतिहासिक सम्झौता सम्पन्न भएको छ।

दुवै संस्थाबीच भएको सम्झौताअनुसार गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको श्री राम मन्दिर गुठी अन्तर्गतको ४ कठ्ठा जग्गा पत्रकार महासंघलाई लिजमा उपलब्ध गराइनेछ। यस जग्गामा महासंघले व्यावसायिक प्रयोजनका लागि आधुनिक भवन निर्माण गर्नेछ ।

गुठी संस्थानले सार्वजनिक सूचनामार्फत आवेदन आह्वान गरेको थियो, जसमा महासंघको प्रस्ताव प्राविधिक र आर्थिक दुवै हिसाबले उत्कृष्ट ठहरिएको थियो। सम्झौता अनुसार, भवन निर्माणको सम्पूर्ण लागत नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले नै बेहोर्नेछ। महासंघले निर्माणको लागि आवश्यक सबै नक्सा, प्राविधिक प्रतिवेदन, लागत अनुमान, र कार्यतालिका गुठी संस्थानमा पेश गर्नुपर्नेछ। निर्माण कार्य नेपालका प्रचलित भवन मापदण्ड र कानुन अनुसार हुनेछ।

यस सम्झौताले पत्रकारिता क्षेत्रको सशक्तीकरण र स्थानीयस्तरमा पूर्वाधार विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। गुठी संस्थानका प्रतिनिधिहरूका अनुसार, यो सहकार्यले संस्थानको निष्क्रिय सम्पत्तिलाई उत्पादनशील बनाउँदै स्थानीय क्षेत्रमा रोजगारी र सेवा विस्तारमा योगदान दिनेछ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले पनि जनकपुरधामलाई सूचना, सञ्चार र सामाजिक सेवाको केन्द्रबिन्दु बनाउने योजनाअन्तर्गत यो भवन निर्माण गर्न लागेको जनाएको छ। सम्झौता अनुसार, भवनको स्वामित्व गुठी संस्थानमै रहनेछ र महासंघले यसको हक हस्तान्तरण गर्न पाउने छैन। सम्झौतासम्बन्धी सबै कर, दस्तुर, स्वीकृति र कानुनी प्रक्रियाको दायित्व महासंघले नै व्यहोर्नेछ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जराले यस ऐतिहासिक कार्यलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहाल, केन्द्रिय लेखा संयोजक केसी लामिछाने, प्रेस चौतारीका महासचिव हिरामान लामा, लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै