ट्रेन्डिङ

आज साउन १५ : खीर खाएर मनाईदै

वीरगन्ज । हरेक वर्षझैँ यस वर्ष पनि साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाईदै छ ।

वर्षा ऋतुको मध्यमा पर्ने यस दिन खीर खाने परम्परा प्राचीनकालदेखि नै चल्दै आएको छ। असार १५ गते दही–चिउरा खाएर रोपाइँको खुसी मनाएझैं, साउन १५ मा खीर खाएर यस महिनाको विशेषतालाई आत्मसात गर्ने गरिन्छ।

दूध, चामल र मरमसलाको मिश्रणबाट बन्ने खीरलाई स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। साउने झरीमा तातो र पौष्टिक खीरले शरीरलाई ऊर्जा दिने र रोग प्रतिरोधात्मक क्षमता बढाउने जनविश्वास छ। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, संस्कृतमा ‘पायस’ भनिने खीरलाई सात्विक आहारमध्ये उत्तम मानिन्छ। पितृकार्य र देवकार्य दुवैमा यसको विशेष महत्व रहेको वैदिक शास्त्रमा उल्लेख छ।

‘साउन महिनामा गाउँघरमा खेतीपातीको काम सकिन्छ। चारैतिर हरियाली छाउने भएकाले गाई–भैँसीका लागि प्रशस्त घाँस उपलब्ध हुन्छ, जसले गर्दा दूधको उत्पादन बढ्छ,’ प्रा.डा. गौतम भन्छन्, ‘यसरी दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन बसेको हो। यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ।’

भगवान् शिवको महिना मानिने साउनमा शिवलाई दूध र दूधजन्य परिकार प्रिय हुने भएकाले खीर चढाइन्छ। यसैले पनि साउनको मध्यमा खीर खाने प्रचलन चलेको हुन सक्ने अनुमान गरिन्छ, यद्यपि यसको कुनै शास्त्रीय वचन भने नरहेको गौतम बताउँछन्। ऋषिमुनिको पालादेखि नै श्राद्ध तथा पितृकार्यमा निमन्त्रणा गरिएका पाहुनालाई पायस खुवाउने परम्परा आज पनि वैदिक सनातन धर्मावलम्बीमाझ कायमै छ। श्राद्धका दिन गाईको दूधमा खीर बनाएर खुवाउनु अनिवार्य मानिन्छ।

चामलबाहेक सावुदाना, सेवई, मकै, गाजरलगायतको पनि खीर बनाउने चलन छ। सावुदानालाई फलफूलकै वर्गमा राखिन्छ। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि लोकप्रिय छ। नेपाली बृहत् शब्दकोशले खीरलाई ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी परिभाषित गरेको छ।

नेपाली समाजमा मौसमी परिकार खाने परम्पराका रूपमा असार १५ गते दही–चिउरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे र माघ १५ गते मालपुवालगायतका परिकार बनाएर इष्टमित्र, छोरीचेली र आफन्तलाई बोलाएर खुवाउने तथा आफू पनि खाने चलन रहिआएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै