ट्रेन्डिङ

औरही अस्पताल भ्रष्टाचार प्रकरण : ७ करोड हिनामिनाको आरोपमा एमाले सांसदसहित १५ जनाविरुद्ध मुद्दा दायर

वीरगन्ज । धनुषाको औरही गाउँपालिकामा १५ शय्याको प्राथमिक अस्पताल निर्माणमा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ ९८ पैसा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेका मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरसहित १५ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार, यो भ्रष्टाचार बोलपत्र (टेन्डर) प्रक्रियामा भएको मिलेमतोका कारण भएको हो। ठेक्का आह्वान गर्दा मुख्य कार्यहरूमा मनगढन्ते सर्तहरू थपिएर १३ वटा बोलपत्रदातालाई प्राविधिक रूपमा अयोग्य बनाइएको थियो।

सबैभन्दा कम रकम कबुल गर्ने कम्पनीलाई अयोग्य गराएर, सोभन्दा झण्डै ७ करोड बढी रकम कबुल गर्ने ‘लुम्बिनी/एल.डी. एण्ड एन. जे.बी’ लाई ठेक्का दिई सार्वजनिक सम्पत्तिको दुरुपयोग गरिएको अख्तियारको आरोप छ। सांसद ठाकुर उक्त ठेक्का पाउने कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक थिए।

सांसद ठाकुरका साथै, अख्तियारले औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरा देवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार ठाकुर, ६ जना वडा अध्यक्षहरू, ३ जना इन्जिनियर/सब–इन्जिनियर र २ जना खरिदारलाई पनि प्रतिवादी बनाएको छ।


कस–कसलाई मुद्दा लाग्यो

दिपेन्द्र कुमार ठाकुर (हाल मधेश प्रदेश सभा सदस्य, तत्कालीन लुम्बिनी÷एल.डी. एण्ड एन. जे.बी. तथा एल.डी. एण्ड एन. बिल्डर्स प्रा.लि. का प्रबन्ध निर्देशक)
विष्णु प्रसाद शर्मा (लुम्बिनी बिल्डर्स प्रा.लि. का तत्कालीन प्रबन्ध निर्देशक)
ब्रम्हदेव यादव (औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष)
मीरा देवी सहनी (औरही गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष)
सरोज कुमार ठाकुर (औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत)
आश्वेश्वर यादव (वडा नं. १ का तत्कालीन वडा अध्यक्ष)
अमित कुमार यादव (वडा नं. २ का तत्कालीन वडा अध्यक्ष)
गंगा प्रसाद यादव (वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष)
शिवनाथ साह (वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष)
प्रमेश्वर कुमार मण्डल (वडा नं. ५ का तत्कालीन वडा अध्यक्ष)
दिलीप कुमार साह (वडा नं. ६ का तत्कालीन वडा अध्यक्ष)
सोनु साह (औरही गाउँपालिकाका तत्कालीन इन्जिनियर)
सन्तोष कुमार मण्डल (औरही गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर)
विनित कुमार साह (औरही गाउँपालिकाका तत्कालीन सब–इन्जिनियर)
मोहन कुमार मण्डल (औरही गाउँपालिकाका तत्कालीन खरिदार)
मनोज कुमार यादव (औरही गाउँपालिकाका तत्कालीन खरिदार)

यस मुद्दा दायर भएसँगै प्रदेश सांसद ठाकुरको पद स्वतः निलम्बनमा परेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै