सप्तरी । अभ्यासको क्रममा सप्तरीको सप्तकोशी नदिमा डुबेर बेपत्ता भएका दुई जना सशस्त्र प्रहरीलाई खोज्ने क्रममा बेवारिसे शव फेला परेको छ ।
मधेश र कोशी प्रदेशको सिमानामा रहेको सप्तकोशी नदीमा डुबेर बेपत्ता भएको दुईजना सशस्त्र प्रहरीलाई खोज्ने क्रममा बिहीबार अर्कै एकजनाको शव भेटिएको छ । मनसुनमा बर्षाको कारण आउने बाढीमा फसेकोहरुको कसरी उद्धार गर्ने भनी अभ्यास गरिरहेको समयमा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए ।
घटनाको खबर पाउनासाथ आफैँ घटनास्थल पुगेका सप्तरीका प्रमुख जिल्ला अधिकारीका अनुसार फेला परेको शवको पहिचान खुल्न नसकेकोले अनुसन्धान भईरहेको बताए । घटनास्थल सदरमुकाम राजबिराजबाट करिब २२ किलोमिटर रहेको छ।
सप्तरी र सुनसरी जिल्लाको सशस्त्र प्रहरीको संयुक्त टोलीले सप्तकोशीमा हराईरहेका सशस्त्र प्रहरी जवानहरूको खोजीकार्य जारी राखेको मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयले जनाएको छ।