रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि राजनीतिक प्रतिशोध साधन खोजेको आरोप लगाएका छन् ।
रौतहटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफूमाथि लागेको भ्रष्टाचारको मुद्दालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘केपी ओलीको निर्देशनमा मुद्दा दर्ता भएको हो। उहाँ मेरो विरुद्धमा सुरुदेखि नै लाग्नुभएको हो। मेरो राजनीतिक करियर समाप्त पार्ने उहाँको नियत नै हो। पहिले पनि यस्तै किसिमले पटक पटक कोसिस गर्नुभएकै हो। उहाँ बदलाको भावनाबाट चल्नुहुन्छ।’
यद्यपि, नेपालले आफूले कुनै पनि प्रकारको भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। यो मुद्दाले नेपालको राजनीतिमा ओली र नेपालबीचको लामो समयदेखिको तिक्ततालाई थप गहिर्याएको छ। भ्रष्टाचारको मुद्दालाई राजनीतिक अस्त्रको रूपमा प्रयोग गरिएको नेपालको आरोपले यस प्रकरणलाई न्यायिक भन्दा पनि राजनीतिक द्वन्द्वको रूपमा हेरिन थालिएको छ।