महोत्तरी । जिल्लाको बर्दिबासमा करिब ५० ग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने अर्ध ठोस पदार्थसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका-०२ बस्ने ३२ वर्षीय सिकेन्द्र साह रहेका छन्। इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा साहलाई जेठ २१ गते बुधबार राति करिब ७:४५ बजे नियन्त्रणमा लिएको हो।
बर्दिबास नगरपालिका-८ रमानन्दचोकस्थित जलेश्वर-बर्दिबास सडक खण्डमा जलेश्वरतर्फबाट बर्दिबासतर्फ आउँदै गरेको लु.२ च २१२४ नम्बरको मरुन रङ्गको निजी कारलाई शंका लागेर रोकी खानतलासी गर्दा सिकेन्द्र साहको साथमा रहेको ‘Wafer rolls Chocolate flavoured Cream’ उल्लेखित चकलेटको बट्टाभित्र सेतो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त अवैध लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागुऔषधको तौल करिब ५० ग्राम रहेको छ।
प्रहरीले साहले चलाउँदै आएको लु.२ च २१२४ नम्बरको निजी कारसहित निजको साथबाट नेपाली र भारतीय गरी जम्मा ८३ हजार ७ सय ७५ रुपैयाँ नगद पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सिकेन्द्र साहलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ स्थान इलाका प्रहरी कार्यालय बर्दिबासबाट करिब १० किलोमिटर उत्तरमा पर्दछ। यस सम्बन्धमा थप विवरण पछि सार्वजनिक गरिने प्रहरीले बताएको छ।