ट्रेन्डिङ

जनकपुरधाममा मनसुन पूर्वतयारी कार्यशाला : विपद् जोखिम न्यूनीकरणमा जोड

जनकपुरधाम । यस वर्ष असामान्य रूपमा बढी वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै मधेश प्रदेश सरकारले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि जनकपुरधाममा एकदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजना र ह्याबिट्याट फर ह्युमानिटी नेपालको सहकार्यमा होटल रोयलमा सम्पन्न यस कार्यशालामा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कार्यशालाको अध्यक्षता गर्दै नेपालमा मनसुनका कारण कहिले अत्यधिक वर्षाले ठूलो जनधनको क्षति हुने र कहिले खडेरीको समस्या देखापर्ने गरेको बताए । उनले यस वर्ष विगत ३० वर्षयताकै सबैभन्दा बढी वर्षा हुने सम्भावना रहेकोले पूर्वतयारीका लागि सबैलाई सचेत र तम्तयार रहन आग्रह गरे ।

‘नेपालमा विगतमा भएका विपद्का घटनाहरूबाट हामीले पाठ सिक्नुपर्छ र सोही अनुरूप उद्धार र राहतका कार्यका लागि आवश्यक स्रोत साधनसहित तयारी अवस्थामा रहन जरुरी छ,’ मन्त्री लेखीले भने । उनले रुखबिरुवा जोगाउनुपर्नेमा समेत जोड दिए । सहयोगी संस्था ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्थापितले मनसुनको पूर्वतयारी र प्रतिकार्यको उद्देश्यबारे प्रकाश पारेका थिए ।

कार्यशालामा गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद बराल, नेपाल प्रहरी मधेश प्रदेशका प्रमुख (डीआईजी) उमा प्रसाद चतुर्वेदी, नेपाली सेनाका प्रतिनिधिहरू तथा ह्याबिट्याटका क्षेत्रीय निमित्त निर्देशक निम बहादुर थापा लगायतको उपस्थिति थियो। यस कार्यशालाले मधेश प्रदेशमा मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण गर्न र प्रभावकारी प्रतिकार्यका लागि सम्बन्धित निकायहरूबीच समन्वय बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै