रौतहट । नेपाली सेनाले आयोजना गरेको ‘विपद् व्यवस्थापन र प्रतिकार्य सम्बन्धी हातेमालो’ को सातौँ संस्करण को अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
सोमबार रौतहटको चन्द्रपुर नगरपालिकाको नुनथरस्थित बागमती नदीमा आयोजित यस अभ्यास कार्यक्रमले विपद्को समयमा गरिने तयारी र समन्वयको महत्वलाई उजागर गरेको छ। यस महत्वपूर्ण अभ्यासमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले नेपाली सेनाको कार्यक्षमताको खुलेर प्रशंसा गरे । उनले सिमित स्रोतसाधनका बाबजुद पनि नेपाली सेनाले उत्कृष्ट कार्य गरिरहेको बताउँदै, शान्ति सुरक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिए । यसले मधेश प्रदेशको सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, मधेश प्रदेश सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अन्य मन्त्रालयको तुलनामा आफ्नो मन्त्रालयलाई न्यून बजेट विनियोजन गरिएकोमा चिन्ता व्यक्त गरे । देश र नागरिकको शान्ति सुरक्षाजस्तो संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालयका लागि पर्याप्त बजेट नहुनु चिन्ताको विषय भएको उनको भनाइ थियो।
नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले प्रदेश सरकारको बजेट बाँडफाँटमा गृह, सञ्चार तथा कानून मन्त्रालयलाई प्राथमिकतामा राख्न जरुरी रहेकोमा जोड दिए । उनले बर्सेनि हुने बाढी, पहिरो, भूक्षय, आगलागी, कटान, डुबानजस्ता विपद्का कारण हुने जनधन र भौतिक क्षतिलाई मध्यनजर गर्दै आजको अभ्यास महत्वपूर्ण रहेको बताए ।
यस अभ्यास कार्यक्रमले मधेस प्रदेशमा विपद् व्यवस्थापनको तयारीलाई अझ सशक्त बनाउनुका साथै, सुरक्षा निकाय र प्रदेश सरकारबीचको समन्वयलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।