पर्सा । वीरगन्ज महानगरपालिकामा बस्ने सांसद निर्मला देवकोटाका श्रीमान कुमार कोइराला विष सेवनबाट अचेत अवस्थामा छन् । सांसद देवकोटा नेकपा एमालेबाट समानुपातिक हुन् ।
कोइराला र सांसद देवकोटा बीच घरायसी विवादको विषयलाई लिएर कुमार कोइराला नाम नखुलेको विषादी सेवन गरेपछि उनी सिकिस्त भएका छन् । उनको उपचार ८ दिनदेखि वीरगन्जस्थित नारायणी अस्पतालमा भइरहेको छ भने अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् ।
गत जेठ १० गते शनिबारका दिन घरायसी विवादका कारण विष सेवन गरेका कोइरालाको उपचार नारायणी अस्पतालको आइसु कक्षको बेड नम्बर ‘सी’ मा भइरहेको छ भने उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।
घटना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलतर्फ खटाइसकिएको बताइएको छ । शुक्रबारसम्म प्रहरीलाई जानकारी नै नगराई राजनैतिक पहुँचका कारण गुपचुप उपचार भइरहेको थियो भने जानकारी पाए लगत्तै पर्सा प्रहरीले अनुसन्धानमा तीब्रता देखाएको छ ।
घरायसी विवादका कारण कोइरालाले बिष खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । बिष सेवनबाट कुमार कोइरालाको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ उनको मृगौलामा समेत समस्या आएको छ ।