फाइल तस्बिर
वीरगन्ज । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।
हाल उनको काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । बिहान करिब ७ बजेतिर मस्तिष्कघात भएपछि परिवारले उनलाई साढे १० बजे अस्पताल पुर्याएको थियो ।
अस्पतालका चिकित्सकका अनुसार अस्पताल ल्याउँदा आलमको बोली लरबरिएको र दाहिने हात कमजोर अवस्थामा थियो । एमआरआईबाट एक्युट स्ट्रोक पुष्टि भएपछि औषधि चलाएर उपचार भइरहेको छ । उनी मधुमेह र उच्च रक्तचापका बिरामी पनि हुन् ।
गत बुधबार मात्रै उच्च अदालत वीरगन्ज इजलासले २०६४ सालको बम विस्फोट घटनामा घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका आलमसहित चार जनालाई ज्यान मुद्दामा सफाइ दिएको थियो । उक्त विस्फोट संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा आलमको घरमा बम बनाउने क्रममा भएको थियो ।