जनकपुरधाम । नेपालमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले समुदायस्तरमा ठूलो सहभागिता जुटाउने महत्वाकांक्षी योजना अघि सारेको छ।
अब देशभर १ लाख ७० हजारभन्दा बढी ‘विपद् सूचक’ समूह गठन गरिनेछ भने ३ हजार ६ सयभन्दा बढी ‘विपद् स्वयंसेवक’लाई विशेष तालिम प्रदान गरिने भएको छ। यसले विपद्को समयमा सूचना आदानप्रदान, परिचालन र उद्धार कार्यमा स्थानीय समुदायको भूमिकालाई अझ बलियो बनाउने विश्वास लिइएको छ।
सशस्त्र प्रहरी बलको मुख्यालयले देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले समूह निर्माण गर्न निर्देशन दिएको छ। यस अनुसार जेठ मसान्तसम्म कुल १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार हुनेछन्। यी सूचकहरूले समुदायस्तरमा विपद् सम्बन्धी सूचना तत्काल प्राप्त गर्न, सुरक्षाकर्मी परिचालनमा सहजीकरण गर्न र उद्धार कार्यमा समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
सूचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूलक प्रशिक्षण र सिमुलेशन अभ्यासमा समेत सहभागी गराइनेछ।
हजारौं ‘विपद् स्वयंसेवक’ तयार गरिने
सशस्त्र प्रहरी बलले ‘विपद् सूचक’ सँगसँगै समुदायस्तरमा ‘विपद् उद्धार स्वयंसेवक’ पनि तयार गर्दैछ। गत जेठ ७ गते सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसै वर्ष सातवटै प्रदेशमा करिब १ हजार समुदाय विपद् उद्धारक तयार गर्ने योजना सार्वजनिक गरेका थिए । यस योजना अन्तर्गत मुख्यालयले १८ दिने विपद् उद्धार स्वयंसेवक तालिम सुरु गरिसकेको छ।
यो तालिम सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले प्रदान गर्नेछन्। यसै आर्थिक वर्षभित्र १८ वटा तालिम सञ्चालन गरिनेछ भने आर्थिक वर्ष २०८२र०८३ मा थप १४७ वटा तालिम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्व तयारीका साथै विपद्का समयमा उद्धार तथा राहतको कार्यमा सहजता हुनेछ।
सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँबाट ५८ जनाको लागि समुदाय विपद् स्वयंसेवक तालिम सुरु भइसकेको छ। प्राकृतिक विपद्को उच्च जोखिम रहेका पालिकाहरूमा यस प्रकारको तालिम दोहोर्याएर समेत गरिने सशस्त्र प्रहरी बलको योजना छ।