वीरगन्ज । संघीय सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटले सरकारी कर्मचारीहरूको तलब वृद्धि नगरे पनि महँगी भत्तामा भने उल्लेखनीय वृद्धि गरेको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा कर्मचारीहरूको पारिश्रमिक सम्बन्धी नयाँ व्यवस्थाबारे जानकारी गराइएको हो। बजेटअनुसार, आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीहरूले मासिक ५ हजार रुपैयाँ महँगी भत्ता प्राप्त गर्नेछन्। यो भत्ता तहगत रूपमा नभई एकमुष्ट रूपमा घोषणा गरिएको हो।
अर्थमन्त्री पौडेलले यस वर्ष कर्मचारीहरूको तलब वृद्धि गर्ने अपेक्षा रहे पनि स्रोतको अभावका कारण हाललाई तलब बढाउन सम्भव नभएको स्पष्ट पारेका छन् । यसअघि सरकारी कर्मचारीहरूको तलब तीन वर्षअघि मात्र बढेको थियो, जसका कारण यस वर्ष तलब वृद्धि हुनेमा कर्मचारीहरू आशावादी थिए। यद्यपि, महँगी भत्तामा भएको वृद्धिले केही हदसम्म भए पनि कर्मचारीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ।
यस घोषणाले सार्वजनिक पदमा रहेका कर्मचारीहरूको पारिश्रमिकमा सिधै प्रभाव पार्नेछ। पछिल्ला दुई वर्षदेखि पारिश्रमिक नबढेका कारण कर्मचारीहरूमा केही असन्तुष्टि रहे पनि महँगी भत्ताको यो घोषणाले उनीहरूलाई सन्तुष्ट पार्न सक्ने अनुमान गरिएको छ।