वीरगन्ज । रौतहटको बहुचर्चित इँटाभट्टामा मान्छे जिउँदै जलाएर ज्यान लिएको आरोपमा जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम आजै कारागारमुक्त हुँदैछन्।
जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सफाइ दिएपछि उनलाई छोड्न कानूनी प्रक्रिया अघि बढाइएको छ ।
न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले गत वैशाख १३, २०८१ मा जिल्ला अदालत रौतहटले गरेको जन्मकैदको फैसलालाई बदर गरेको हो। यससँगै आलममाथि लागेका सबै मुद्दाबाट उनले सफाइ पाएका छन्।
आलमको तर्फबाट बहस गरेका अधिवक्ता सरोज कृष्ण घिमिरेका अनुसार, उच्च अदालतले अभियोगमा उल्लेखित घटनाको सारभूत तथ्यसँग मेल खाने प्रष्ट आधारहरू नभएको ठहर गरेको छ। घिमिरेले भने, ‘बम विस्फोट गरिएको भनिएको घटनामा सारभुत तथ्यसँग मेल खाने देखिएन र सरकारी पक्षले पनि त्यसलाई प्रमाणित गर्ने आधारहरू नदेखिएकोले अदालतले सायद त्यही आधारमा सफाइ दिएको हो।’
आलममाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो राति रौतहटको राजपुरस्थित इँटाभट्टामा बम बनाउने क्रममा घाइते भएकाहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोप थियो। यो घटनाको १२ वर्षपछि २०७६ असोज १९ गते सर्वोच्च अदालतको आदेशपछि उनी पक्राउ परेका थिए।
उच्च अदालतले सबै कानूनी प्रक्रिया अगाडि बढाएको र आलम हाल रहेका कारागारसँग आवश्यक समन्वय भइरहेकोले उनी आजै (बुधबार) कारागारबाट छुट्ने प्रक्रियामा रहेको बताइएको छ। यस फैसलाले दशक लामो यस बहुचर्चित र विवादास्पद मुद्दाको कानूनी अध्यायलाई निर्णायक मोड दिएको छ।