जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको बैठक आज जनकपुरधामस्थित संसदीय दलको कार्यालयमा सम्पन्न भएको छ।
बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी र समावेशी बनाउनका साथै मधेश प्रदेश सरकारको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन जोड दिएको छ। संसदीय दलका नेता कृष्ण यादवको अध्यक्षतामा बसेको बैठकले आगामी नीति तथा कार्यक्रम र बजेटका मुख्य प्राथमिकताहरूमाथि गहन छलफल गरेको छ।
प्रदेश सभा सदस्य श्याम पटेलले जानकारी दिएअनुसार, बैठकले प्रदेशको समग्र विकास र जनताको हितलाई केन्द्रमा राख्दै अधिकतम कार्यक्रमहरूलाई आगामी बजेटमा समावेश गर्नका लागि पहल गर्ने निर्णय गरेको छ। यसबाट प्रदेशको आर्थिक विकास र जनताको जीवनस्तर सुधारमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ।
बैठकले मधेश प्रदेश सरकारको काम कारबाहीलाई अझ चुस्त, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्नेमा विशेष जोड दिएको छ। कांग्रेस संसदीय दलले प्रदेश सरकारको कार्यसम्पादनमा थप प्रभावकारिता ल्याउन आवश्यक सुझाव र दबाब दिने निर्णय गरेको छ। यसले प्रदेशमा सुशासन प्रवर्द्धन गर्न र जनताले प्रत्यक्ष लाभ लिन सक्ने गरी विकासका कार्यहरूलाई अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
आगामी बजेट अधिवेशन नजिकिँदै गर्दा बसेको यो बैठकले नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको भावी रणनीति र प्रदेश सरकारसँगको समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।