वीरगन्ज । पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकाले आज वडा नम्बर दुईमा सडक अतिक्रमण गरी बनाइएका घर टहरामाथि डोजर चलाएको छ।
गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको प्रत्यक्ष नेतृत्वमा भएको यस अभियानका कारण करिब ३५ परिवार प्रभावित भएका छन् भने प्रतिरोधमा उत्रिएका दुई जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँपालिकाले लामो समयदेखि सडक क्षेत्र मिचेर बनाइएका अवैध संरचनाहरू हटाउनका लागि आज बिहानैदेखि सक्रियता देखाएको हो। अध्यक्ष प्रमोद तिवारीको नेतृत्वमा चारवटा डोजर प्रयोग गरी सडक अतिक्रमण गरी बनाइएका घर टहराहरू हटाउन थालिएको थियो। सडक क्षेत्र खाली गराउने उद्देश्यले गाउँपालिकाले यो कदम चालेको बुझिएको छ।
अतिक्रमण हटाउने यस अभियानका कारण करिब ३५ जना परिवार प्रभावित भएका छन् । प्रभावित परिवारहरूले गाउँपालिका अध्यक्ष तिवारीले आफूहरूलाई वैकल्पिक बासस्थानको व्यवस्थापन नै नगरी उठिबास गराएको भन्दै चर्को विरोध प्रदर्शन गरेका थिए। उनीहरूले आफूहरूको मानवअधिकारको हनन भएको भन्दै उचित व्यवस्थापनको माग गरेका छन्।
डोजर चल्दा स्थानीयले प्रतिवाद गर्न खोज्दा स्थिति केही तनावग्रस्त बनेको थियो। यस क्रममा अतिक्रमण हटाउने कार्यमा अवरोध पुर्याउन खोज्ने दुई जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय बहुअर्वा भट्टामा राखिएको प्रहरीले जनाएको छ।