सिरहा । जिल्लाको मिर्चैया नगरपालिका–९ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको कमलदह सिमसार क्षेत्र अब नयाँ स्वरूपमा देखिने तयारीमा छ।
संरक्षण तथा सौन्दर्यकरणको लक्ष्यसहित कमलदहमा घाट निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। मंगलवार एक विशेष समारोहका बीच मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले शिलान्यास गर्दै कमलदहको पर्यटन सम्भावनालाई अघि बढाउन यस्तो संरचनाको आवश्यकता रहेको बताए।
यो परियोजना वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय, लहानद्वारा सञ्चालन हुने छ। घाट निर्माणका लागि हाल ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। कमलदहलाई धार्मिक तथा प्राकृतिक पर्यटनको केन्द्रबिन्दु बनाउने दीर्घकालीन योजना अनुसार यो कार्य अगाडि बढाइएको जनाइएको छ। स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा थप पूर्वाधार विस्तार हुँदै जाने अपेक्षा गरिएको छ।
कमलदह क्षेत्र ऐतिहासिक रूपमा पनि महत्वपूर्ण मानिन्छ, जहाँ प्रत्येक वर्ष मेला लाग्ने गर्दछ र धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र रहँदै आएको छ।