फाइल तस्बिर
वीरगन्ज । संघीय लोकतान्त्रिक मोर्चाको बैठक भोलि (बुधबार) बस्ने भएको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले बैठकको अध्यक्षता गर्ने छन् । जनमतका प्रवक्ता शरदसिंह यादवका अनुसार बैठक दिनको १ बजे जनमत पार्टीको केन्द्रीय कार्यालय, मध्य बानेश्वरमा आयोजना हुनेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संघीयता र लोकतान्त्रिक प्रक्रियामा देखिएका चुनौतीहरू तथा मोर्चाको आगामी रणनीति र गतिविधिहरूबारे गहिरो छलफल हुने जनाइएको छ।
मोर्चाको मूल उद्देश्य संविधानमा समेटिएका संघीय व्यवस्था, नागरिक अधिकार र समानताको सवालमा सरकारलाई जिम्मेवार बनाउने हो। पछिल्ला वर्षहरूमा प्रदेशहरूको अधिकार कटौती गर्ने प्रयास, दलहरूबीच बढ्दो असहिष्णुता र लोकतान्त्रिक अभ्यासमा आएको कमजोरीप्रति मोर्चाले चिन्ता व्यक्त गर्दै आएको छ।
जनमत पार्टीका प्रवक्ता यादवका अनुसार, बैठकमा प्रदेशहरूको सशक्तिकरण, नागरिक स्तरमा देखिएको असन्तोष, तथा स्थानीय तहका अधिकार संरक्षण लगायतका विषयहरूमा समेत विशेष छलफल हुनेछ।
राजनीतिक स्थायित्वको अभाव, संघीयता र समावेशीताको प्रश्नमा सत्तारूढ दलहरूको नीतिगत अस्पष्टता र राजसंस्थाको पुनःस्थापनाको बहससँगै संघीय लोकतान्त्रिक मोर्चाको सक्रियता बढ्दो छ। यसैबीच मोर्चाको भोलिको बैठकले आगामी आन्दोलन, राष्ट्रिय संवादको आवश्यकता र सम्भावित राजनीतिक गठबन्धनका विषयमा ठोस निणर्य लिनसक्ने अनुमान गरिएको छ।