ट्रेन्डिङ

सिरहामा ठूलो परिमाणमा खैरो हिरोइन र हुण्डीको रकमसहित पाँच जना पक्राउ

वीरगन्ज । सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित चार जनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका– २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी रहेकी छन् ।

गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका– १२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आइतबार सार्वजनिक गरिएको हो । पक्राउ परेका दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पनि खुलेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्र पासवानले जानकारी दिए ।

उनका अनुसार यादव गत २०८० साउन १२ मा ३.६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । सो मुद्दामा असोज २४ गते पुर्पक्षका लागि कारागार चलान भएकोमा अदालतको फैसलाबमोजिम ६ महिना कैद भुक्तान गरी छुटेका थिए । उनीहरुबाट बरामद रकम खैरो हिरोइन बिक्रीबाट जम्मा पारेको खुलेको छ । बरामद खैरो हिरोइन करिब ८ लाखभन्दा बढीको रहेको छ ।

यसैगरी बरियारपट्टी गाउपालिका–३ बाट खैरो हिरोइनसहित पक्राउ परेका थप दुई जनालाई पनि सिरहा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका–२ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई छन् । उनीहरुबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै हुण्डी कारोबारीलाई पनि सार्वजनिक गरिएको छ । सिरहा नगरपालिका– २ बाट वडा नम्बर १७ का सञ्जय कारक पक्राउ परेका छन् । उनको साथबाट १६ लाख ३८ हजार ३७० रुपैयाँ बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै