ट्रेन्डिङ

फर्जी भर्ना प्रकरण : वीरगन्जको ठाकुरराम क्याम्पसमा तालाबन्दी, विद्यार्थी नेताहरू पक्राउ

वीरगन्ज । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्नाको आरोपलाई लिएर सोमबार विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्।

प्रशासनले लामो समयदेखि उजुरीको बेवास्ता गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले क्याम्पसको मिटिङ हलमा तालाबन्दी गर्दै प्रमुखलगायत केही शिक्षकलाई कार्यकक्षमै थुनेर प्रदर्शन गरेका हुन्। क्याम्पस प्रमुखलगायत केही शिक्षक र कर्मचारीलाई पछि प्रहरीले सुरक्षित रूपमा कार्यकक्षबाट बाहिर निकालेको थियो।

केही व्यक्तिलाई नक्कली कागजातको आधारमा अवैध रूपमा भर्ना गरिएको छ, र यसका लागि हजारौं रुपैयाँ असुलेको प्रमाण उनीहरूसँग छ। तर, पटक–पटकको उजुरी र मागहरूलाई क्याम्पस प्रशासनले बेवास्ता गर्दै आएको विद्यार्थीहरूको आरोप छ ।

प्रदर्शनमा उत्रिएका तीन जना विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ । प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सगिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि भएको छ। उनीहरूलाई क्याम्पसकै परिसरबाट पक्राउ गरिएको हो। गिरफ्तारीपछि प्रदर्शनकारीहरू झनै आक्रोशित बनेका छन् र थप सशक्त आन्दोलनको चेतावनी दिएका छन्।

घटनाप्रति स्थानीय विद्यार्थी संगठनहरूले गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् भने क्याम्पस प्रशासनले अहिलेसम्म घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै