वीरगन्ज । जितपुर सिमरा उपमहानगरपालिकाको शान्ति टोलस्थित खेल मैदानमा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा तोकिएको समयसीमा उल्लंघन भएपछि प्रहरीले हस्तक्षेप गर्दै कार्यक्रम रोकिदिएको छ।
प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको भए पनि आयोजकले शनिबार राति ९ बजेसम्म टिकट बिक्री जारी राखेका थिए। शनिबार राति भोजपुरी गायक सुनील पण्डितको प्रस्तुति चलिरहेको बेला इलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइबा स्वयं स्टेजमा पुगेर माइक नियन्त्रणमा लिँदै साउण्ड बक्सको तार झिकिदिएकी थिइन्।
डिएसपी वाइबाले महोत्सवमा भीड बढ्दै गएको र त्यहाँ झडपको अवस्था सृजना हुने अवस्थाको मूल्यांकन गरेर कार्यक्रम रोकिएको बताइन्। उनले भनिन्, ‘हामीले परिस्थितिको मूल्यांकन गरेर कार्यक्रम रोकेका हौं।’ यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसैबीच, काठमाडौँमा आयोजित बलिउड नायिका एवम् डान्सर नोरा फतेहीको कार्यक्रममा भने प्रहरीले हस्तक्षेप नगरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एउटै देशमा दुईवटा कानून भनेर टिप्पणी गरिरहेका छन्।
यस टिप्पणीको विषयमा डिएसपी वाइबाले भनिन्, ‘कहाँ के हुँदैछ, त्यो हाम्रो सरोकार होइन, हामीले हाम्रो जिल्लामा शान्ति सुरक्षाको अनुभूति गराउनु पर्छ।’ उनले थपिन्, ‘ठमेलमा रातभरि कार्यक्रम हुन्छ, त्यहाँ प्रहरी रोक्न गएको छैन। कति समयसम्म कार्यक्रम गर्ने भन्ने कुरा प्रशासनको अनुमति र समन्वयमा गर्नुपर्छ।’
गायक सुनील पण्डितले सामाजिक सञ्जालमार्फत प्रहरीको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै खेद प्रकट गरेका छन्। उनले लेखेका छन्, ‘शनिबार राति ९ बजेर ५ मिनेट जाँदा इलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइबाको टोलीले कार्यक्रम चलिरहेको बेला मेरो हातबाट माइक लिई स्पीकरको तार समेत चुडाई कार्यक्रम रोकिदिए। यसले आयोजक र स्थानीय बासिन्दालाई असर परेको छ।
यस घटनाले स्थानीय प्रशासन र आयोजकबीच समन्वयको अभाव देखाएको छ। प्रशासनले तोकेको समयसीमा पालना नगर्दा सुरक्षामा चुनौती उत्पन्न भएको देखिन्छ। यसले आगामी दिनमा यस्ता कार्यक्रमहरूमा समयसीमा र सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ।