वीरगन्ज । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी बिरामीको स्वास्थ्य परिक्षण गरिएको छ । वीरगन्जको घडिअर्वा पोखरी परिसरमा स्थानीयलाई लक्षित गरी आयोजित शिविरमा विभिन्न रोगका २ सय ८ जना बिरामीहरूले आफ्नो स्वास्थ्य परिक्षण गराएका छन् ।
शिविरको आयोजना नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.इसरत जहाँ अन्सारीको अध्यक्षतामा गरिएको थियो। बिहानको समयमा मर्निङ वाक गर्ने नगर क्षेत्रका बासिन्दालाई लक्षित गर्दै आयोजित कार्यक्रममा जनस्वास्थ्यका विविध पक्षमा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकहरूले जानकारी दिएका छन्।
स्वास्थ्य शिविरमा अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सक तथा इन्टन्ल स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।
कन्सल्टेन्ट डा. इमरान अली.डा उदित यादव, डा. मो. राशिद कलाम (पिजी), डा. विवेक भारतीले बिरामीहरूको जाँच तथा परामर्श गरेका थिए। साथै, नर्सिङ्ग सेवा प्रदान गर्न बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली खटिएको थियो।
शिविरमा अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, पेट सम्बन्धी समस्या, श्वासप्रश्वासका समस्या र सामान्य संक्रमणजस्ता स्वास्थ्य समस्या देखिएको थियो ।
स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरलाई प्रभावकारी बनाउँदै आगामी दिनमा अन्य ठाउँमा पनि यस्ता कार्यक्रम विस्तार गरिने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रतिनिधिहरूले बताएको अस्पतालका प्रेस प्रतिनिधि आसिक अन्सारीले जानकारी दिए ।