ट्रेन्डिङ

परवानीपुरमा सडक अतिक्रमण हटाउन गएको नगर प्रहरी र स्थानीयबीच घम्साघम्सी

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा सडक अतिक्रमण हटाउन पुगेको नगर प्रहरी र स्थानीयबीच घम्साघम्सी भएको छ ।

परवानीपुर चोकदेखि पटेलनगरसम्मको सडक स्तरोन्नतीका लागि बाटो फराकिलो गर्ने क्रममा सडकमा पर्ने स्थानीयको घरटहराहरुमा जोजर चलाइएको थियो । महानगरपालिकाको डोजर लगाएर वडा अध्यक्षले जबरजस्ती घरहरु भत्काई दिन थालेपछि आक्रोशित बनेका स्थानीयले नगरप्रहरीसँग जुध्न पुगेका थिए ।

वीरगन्ज महानगरपालिकाले सडकमा पर्ने घरटहराहरु खाली गर्न स्थानीयलाई आग्रह गरेपछि स्थानीयले नापी गरेर सडक निकाल्न आग्रह गरेका थिए । महानगरपालिकाबाट अमिन सहितको टोलीले नापी गर्दा स्थानीयलाई चित्त नबुझेपछि नापी कार्यालयको अमिन ल्याएर नापी गरि नक्शांकन गरेर मात्रै घरटहरा खाली गर्न स्थानीयहरुले आग्रह गरेका थिए । तर ऐक्कासी महानगरको प्रहरी र डोजर सहितको टोली गएर घर टहराहरु भत्काउन थालेको स्थानीयको गुनासो छ ।

नापी गरेपछि सडकमा पर्ने घर टहरा खाली गर्न तयार रहेपनि वडा अध्यक्ष र महानगरले डोजर र नगर प्रहरी सहित गएर बल प्रयोग गरेर संरचना भत्काई दिएको स्थानीयको आरोप छ ।

तर, वडा अध्यक्ष राधाकृष्ण रौनियारको भने फरक दाबी छ । उनले परवानीपुर बजार र पटेलनगर दुवैतर्फबाट सडक विस्तार हुँदै आएको र बीचमा एकसय मिटरजति स्थानीयको अवरोधले निर्माण गर्न नपाएपछि ठेकेदार समेत भाग्ने अवस्था रहको भन्दै पूरानो नापी अनुसार सडकमा पर्ने घरटहरा मात्रै भत्काएको बताए । सडकमा पर्ने घरटहराहरु आफैले भत्काउन थालेको भएपनि दुईतीन घरमा मात्र विवाद भएको वडाअध्यक्षको दाबी छ ।

महानगरले अतिक्रमण हटाइरहँदा नगरप्रहरीसँग घम्साघम्सी गरेका सातजनालाई नियन्त्रणमा लिइएको थियो । यद्धपी अहिले उनीहरुलाई छाडिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै