जनकपुरधाम । मधेश प्रदेशका करिब ४ हजार बढी गम्भीर प्रकृतिका बिरामीको उपचारको उपचार लागि दिइदै आइरहेको सहायता रकमको अभाव भएको छ ।
मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर, मुटु, मृगौला, पार्किन्सन, एल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिस्कघात, अर्थराइटिस, लगायत १३ वटा गम्भीर प्रकृतिका बिरामीलाई जनही एक लाख रुपैयाँ गत आर्थिकवर्ष २०८०÷८१ देखि वितरण गरिरहेको छ ।
मधेश सरकारले गम्भीर प्रकृतिका बिरामीलाई वितरण गरिरहेको आर्थिक सहायता बजेट अभावमा प्रभावित भएको छ । चार हजार जनाभन्दा बढी बिरामीका लागि ४० करोडभन्दा बढी रकम आवश्यक छ ।
गत आर्थिक वर्षमा पनि बजेट अभाव हुँदा निवेदन नदिएका ५१७ बिरामीको भुक्तानी बाँकी थियो । चालु आर्थिक वर्षमा गत आवको बाँकीसहित हालसम्म ९ सय जनालाई वितरण गरिएको छ । तर बजेट नहुँदा सहायताका लागि निवेदन दिएका ४ हजार जनाभन्दा बढी बिरामीको भुक्तानी बाँकी रहेको मन्त्रालयका जनस्वास्थ्य प्रशासक सन्तोष ठाकुरले बताए ।
‘चालु आर्थिक वर्षमा नौ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो। त्यो बजेट वितरण गरेर सकिसकेको छ । ४ हजार जनाभन्दा बढी बिरामीलाई अझै सहायता वितरण गर्नुपर्ने बाँकी छ,’ उनले भने, ‘निवेदन परेकाहरूलाई वितरण गर्न ५० करोडसम्म बजेट चाहिन्छ ।’
उनका अनुसार बाँकीलाई वितरण गर्न करिब २ महिनाअघि नै ३८ करोड रूपैयाँ स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयसँग माग गर्दै निवेदन पठाएको थियो । तर अहिलेसम्म बजेट आइनसकेकाले आर्थिक सहायता वितरण ठप्प भएको छ ।