फाइल तस्विर
वीरगन्ज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ । काठको ब्यापार गर्ने अजमुदिन मियाँ र नुरहसन मियाँले ठोरी गाउँपालिकाको बिभिन्न ठाउँबाट थोरै कटान पूर्जी बनाई धेरै काठ कटानी गरेको सूचनाका आधारमा प्ररीले ट्रकलाई छानबिनकालागि नियन्त्रणमा लिएको हो ।
थोरै परिणामको छुटानी पूर्जी बनाई ट्रक शिलबन्दी गरिएको स्रोतले दाबी गरेको छ । शिलबन्दी ट्रक माडी नारायणगढ हुँदै भैरहवा लैजाने क्रममा ठोरीमै विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रक शिलबन्दी रहेको र कागजात पनि भएकोले निकुञ्जका प्रनितिधिले त्यसलाई परिक्षण गर्ने बताइएको छ । ट्रकमा नाप साइज बिना लगतमा खयरजातका गोलिया अनुमति भन्दा बढी लोड गरिएको स्रोतको दाबी छ ।
काठको काम कानूनी प्रबन्धको खिल्ली उडाउदै निर्धक्कतापूर्वक हुँदै आएको छ । तस्कर र माफियाको जालोमा राज्यका संरचनाहरु नतमस्तक भएको स्रोतको दाबी छ । स्रोतका अनुसार काठ तस्करलाई राजनीतिक नेताहरुको संरक्षण रहेको छ भने राज्य संयन्त्रका कर्मचारी इलाका वन, जिल्ला वन प्रहरी सम्मले नाजायज नजरना लिएर तस्करलाई सहज बनाउदै आएको छ ।