वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, नगवा निवासी २० वर्षीया आलिया खातुनलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरिएको छ। गत वैशाख २१ गते एक महिलालाई नयाँ कपडा किनिदिने, पैसा दिने जस्ता प्रलोभन देखाई भारतको रक्सौलस्थित होटलमा यौन व्यवसायमा लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पीडित पक्षको जाहेरीको आधारमा वैशाख २७ गते राति २ बजे इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले बेचिएकी महिलाको उद्धार गरेको छ । प्रारम्भिक अनुसन्धानबाट यसअघि पनि खातुनले यस्तै किसिमका प्रलोभन देखाई नाबालिकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार गरेको तथ्य फेला परेपछि उनलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेकी आलिया खातुनविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको छ।