ट्रेन्डिङ

जबरजस्ती करणी घटनामा एक अभियुक्त पक्राउ, अर्का एक जना फरार

वीरगन्ज । पर्सा जिल्लामा हालै घटेको जबरजस्ती करणी घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया घर भइ हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मा बसोबास गर्दै आएका ५० वर्षीय दिनानाथ साह प्रहरीले पक्राउ गरेको छ । शनिबार बैशाख २७ गते राति करिब पौने दुई बजे पर्सा जिल्लास्थित श्रीपुर क्षेत्रमा साह र अर्का एक (हाल नामथर खुल्न बाँकी) करिब ४० वर्षीय व्यक्ति मिलेर एक महिलामाथि जबरजस्ती करणी गरेका थिए। पीडित पक्षबाट तत्कालै प्रहरीमा जाहेरी दर्ता गराइएको थियो, जसमा ती दुई व्यक्तिमध्ये एकले मौका छोपी पीडितलाई मुख थुनी जबरजस्ती करणी गरेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको सूचना संकलन तथा विश्लेषण शाखाले पीडितको उजुरीका आधारमा अनुसन्धान अगाडि बढाउँदै हालसम्म अभियुक्त दिनानाथ साहलाई नियन्त्रणमा लिएको हो। साहलाई बैशाख २८ गते बिहान पक्राउ गरिएको हो। घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेका छन्। प्रहरीले उनको पहिचान गरिसकेको र उनलाई पक्राउ गर्न खोजतलास जारी रहेको जनाएको छ।

पक्राउ परेका साहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत पर्सामा उपस्थित गराइएको थियो। अदालतले प्रारम्भिक सुनुवाइपछि उनलाई करणी सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा राख्न आदेश दिएको छ।

प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक किशोर लम्साल ले बताए अनुसार, ‘हालैको घटनामा संलग्न व्यक्तिलाई छिट्टै नियन्त्रणमा लिनु प्रहरीको तर्फबाट तिव्र प्रतिक्रिया हो। यस्ता अपराधमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याउन हाम्रो प्रतिबद्धता कायमै छ।’

प्रहरीले पीडितको सुरक्षालाई गोप्य राख्दै अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै