ट्रेन्डिङ

चलचित्र पत्रकार संघ पर्साको अध्यक्षमा सूर्य नारायण बिक

वीरगन्ज । चलचित्र पत्रकार संघ नेपाल, पर्सा शाखाको प्रथम अधिवेशन आइतबार वीरगन्जमा भव्यतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत निर्णय गर्दै सूर्य नारायण बिकको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ। कार्यक्रममा पत्रकारिता, चलचित्र तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। चलचित्र पत्रकारितामा क्रियाशील पत्रकारहरूको सशक्त संगठन निर्माण गर्ने उद्देश्यका साथ आयोजित उक्त अधिवेशनलाई ऐतिहासिक मानिएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष आनन्द पटेल, सचिव रञ्जीत यादव, कोषाध्यक्ष सबनम भट्टराई, सह–कोषाध्यक्ष दिपु बर्णवाल रहेका छन् भने सदस्यहरूमा मनिषा गुप्ता, अखिल पटेल, जय यादव, समिना रंजीतकार, रश्मी राजभण्डारी, सन्तोष कुशवाहा रहेका छन् ।

अध्यक्षमा चयन भएपछि बिकले आफ्नो कार्यकालमा चलचित्र पत्रकारहरूको हकहित, क्षमता विकास तथा स्थानीय चलचित्र संस्कृतिको प्रवर्द्धनका लागि संघले योजनाबद्ध रूपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले फिल्म पत्रकारिताको व्यावसायिकता, मर्यादा र निष्पक्षता कायम राख्न संघ अग्रसर हुने बताए ।

कार्यक्रममा बोल्दै अन्य वक्ताहरूले चलचित्र पत्रकारिता क्षेत्रमा संघको स्थापना एक महत्वपूर्ण पाइला भएको बताएका थिए। यसले पत्रकारहरूबीच एकता, समन्वय र सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। अधिवेशनले आगामी दिनमा विभिन्न तालिम, गोष्ठी, सम्मान कार्यक्रम तथा फिल्म महोत्सव जस्ता गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिइएको छ।

संघको स्थापना र पहिलो अधिवेशनले पर्सा जिल्लामा चलचित्र पत्रकारिताको नयाँ युग सुरु गरेको टिप्पणी गरिएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, चर्चित कलाकार नन्दु श्रिवास्व, सुनिल पण्डित, संघको संस्थापक अध्यक्ष निलिमा पौडेललगायत विभिन्न सञ्चारमाध्यमका पत्रकार, कलाकार, सांस्कृतिक अगुवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै