वीरगन्ज । नेपाल–भारत खुला सिमानाले नागरिकस्तरमा आवतजावत सहज बनाएको छ । तर यही सहजताले मानव तस्करीजस्तो गम्भीर अपराधको ढोका पनि उघारेको छ ।
पछिल्लो समय विशेषगरी तराई–मधेशका सीमावर्ती नाकाहरु हुँदै महिला तथा किशोरीहरूलाई वैदेशिक रोजगारी, विवाह र अध्ययनको नाममा भारत हुँदै खाडी मुलुक, मलेसिया र युरोपसम्म बेच्ने गिरोह सक्रिय देखिएका छन् ।
यही १७ बैशाखमा पर्सा प्रहरीले वीरगन्ज नाकाबाट तीनजना युवतीलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्दार गरेको हो । तीनजना युवतीको उद्दारसंगै प्रहरीले मानव तस्करी गरिरहेको आरोपमा २३ वर्षीय सुवन लामा (पासाङ लामा) लाई पक्राउसमेत गरेको छ । प्रहरीका अनुसार उनी सिन्धुपालचोक चौतार नगरपालिका वडा नम्बर– १ निवासी हुन ।
शुक्रबार साँझ पर्सा प्रहरीले एक विज्ञप्ति जारी गर्दै यो घटनाबारे खुलासा गरेको हो । प्रहरीका अनुसार युवतीहरूलाई भारतको दिल्ली हुँदै अन्य तेस्रो मुलुकमा पठाउने तयारीमा रहेको प्रहरको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
यो घटनाले फेरि एकपटक सीमा सुरक्षाको चुनौती र मानव तस्करीको मौलाउँदै गएको स्वरूपलाई उजागर गरेको छ ।
सीमामा सहजता, नियमनमा चुनौती
नेपाल र भारतबिच लामो खुला सीमा छ । यसैका कारण सुरक्षा निकायको पहुँच बाहिरका कैयौं ‘अनौपचारिक नाका’ छन्, जुन मानव तस्करीका लागि उपयुक्त मार्ग बनेका छन् । खासगरी बारा, पर्सा, रौतहट, सप्तरी, मोरङ, कैलाली, कञ्चनपुर जस्ता जिल्लाका नाकाबाट तस्करी हुने गरेको प्रहरी तथ्यांक छ ।
कानुन कडा, कार्यान्वयन कमजोर
मानव तस्करहरू अक्सर ‘दाइजो’मा भारत लैजाने, ‘रोजगारीको अवसर’ दिएको बहानामा महिला–किशोरीहरूलाई सहर लैजाने, वा फेक विवाहमार्फत ‘पतिसँग भारत जानुपर्ने’ जस्ता कथाहरू बुन्छन्।
कमजोर आर्थिक अवस्था, शिक्षा र चेतनाको अभावले यी चालबाजीमा पर्नेको संख्या उच्च छ । नेपालमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लागू भए पनि यसको प्रभावकारी कार्यान्वयनमा समस्या देखिन्छ ।
सीमाक्षेत्रमा संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव, प्रहरी–प्रशासनमा स्रोत साधनको कमीसँगै मुद्दा दर्ता भएपछि हुने ढिलो न्यायिक प्रक्रिया तस्करलाई उत्साहित गर्ने कारक बनेको जानकारहरु बताउँछन् ।