ट्रेन्डिङ

काश्मिरमा नेपालीको हत्याविरोधमा जनकपुरमा प्रदर्शन, पाकिस्तानका सेना प्रमुखको पुतला दहन

धनुषा । भारतको काश्मिरको पहलगाममा एक नेपालीसहित २७ जना आतंकवादी हमलामा मारिएको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

नेपाल भारत खुला सीमा संवाद समूहको आयोजनामा मंगलबार जनकपुरधामको जनकचोकमा पहलगाममा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको आतंककारी हमलामा मारिएको विरोधमा आक्रोशित स्थानीयले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा पाकिस्तानका सेना प्रमुख आसिफ मुनिरले आतंकवादीहरूप्रति सहानुभूति जनाउँदै दिएको अभिव्यक्तिको विरोधमा उनको पुतला दहन गरिएको थियो । ‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होसियार’ जस्ता नारासहित उपस्थित प्रदर्शनकारीले जनकचोकदेखि जानकी मन्दिर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए ।

प्रदर्शनको अध्यक्षता संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादवले गरेका थिए भने प्रमुख अतिथि संस्थाका अध्यक्ष राजीव झा रहेका थिए । प्रदर्शनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता अनिल महासेठ, संजय चौधरी, संजय सिह, राम जीवन साह, चुरे संघर्ष समितिका प्रतिनिधिहरू, स्थानीय अगुवा तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रदर्शनमा हिन्दू तथा मुस्लिम समुदायका युवाहरू स्वत्स्फूर्त रूपमा सहभागी भई एकताको सन्देश दिँदै आतंकवादकाविरुद्ध एकजुट भएर प्रदर्शन गरेको अध्यक्ष झाले बताए । नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष झाले आगामी दिनहरूमा पनि सीमा सुरक्षाको विषयमा जनस्तरबाट आवाज उठाउँदै पीडितको न्यायका लागि निरन्तर संघर्ष गरिरहने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै