वीरगन्ज । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले बाराका भूमिहीन तथा सुकुम्बासी तथा यससँग सरोकार राख्नेहरुसँग छलफल गरेका छन् ।
आयोगका केन्द्रीय सदस्यहरू अनिल प्रसाई, आरती भण्डारीलगायत टोलीसहित आएका अध्यक्ष रिजालले बाराको भूमिहीन तथा सुकुम्बासीलाई वितरण गर्ने जग्गाको विषयमा छलफल तथा भेटघाट गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, कलैयामा बसेको बैठकमा अध्यक्ष रिजालले निर्धारित समयमै जग्गा प्राप्तीका लागि कानूनी प्रक्रिया अघि बढाउन जोड दिए ।
‘जग्गा प्राप्त गर्न कानूनी प्रक्रिया मिलाउने यो अन्तिम समय हो, निर्धारित समय मै तपाईहरु प्रक्रिया थाल्नुस् । यो बेला छुट्यो भने पछि कुनै पनि हालतमा जग्गा प्राप्त गर्न सकिन्न’ अध्यक्ष रिजालले भने, ‘तोकिएको समयमा प्रक्रिया नथाले पछि जग्गा वितरण भइसकेपछि छुटेकाहरुले जग्गा पाउँदैनन् ।’ अध्यक्ष रिजालले सबै प्रक्रिया पुर्याएर फारम भरेकाहरुले करिब डेढ विगहा जग्गा प्राप्त गर्न सक्ने बताएको बैठकमा सहभागि नेपाली कांग्रेस क्षेत्र नम्बर ४(ख)का क्षेत्रीय सभापति लोकेश सिंहले जानकारी दिए ।
भूमिहीन तथा सुकुम्बासीहरुले करिब डेढ बिगहा जग्गा पाउने छन् । तर निर्धारित समयमा कानूनी प्रक्रिया पुर्याएर फारम नबुझाएका र जोतभोग पनि गरिरहेकाहरुको जग्गा पछि सरकारले खोस्न सक्ने नेता सिंहले बताए । बैठकमा पूर्व मन्त्री एवम् भूमि समस्या समाधान आयोगका बारा सदस्य कलावति पासवान, युवा नेता दिपेन्द्र पटेललगायतको सहभागिता रहेको थियो ।