वीरगन्ज । नेपाल हज समितिले सन् २०२५ मा हजमा जाने हज यात्रीहरुको हवाई उडान तालिका सार्वजनिक गरेको छ ।
गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले सोमबार जारी गरेको सूचनामा हज यात्रीहरुको उडान र मिति सम्बन्धि व्यहोरा सार्वजनिक गरेको हो । सन् २०२५ को हजमा जानको लागि आवेदन गर्नु भएका आवेदकहरुको लागि नेपाल हज समितिले खुल्ला प्रतिस्पर्धाबाट हवाई कम्पनी छनोट गरी उक्त हवाई सेवा प्रदायकले प्रदान गरेको हवाई उडान तालिका बमोजिम नेपालबाट साउदी अरब जाने आउने आउने हजयात्रीहरुको जिल्लागत उडान तालिका सार्वजनिक गरेको हो ।
जसअन्तर्गत पहिलो उडान आगामी जेठ ३ गते शनिबार हुने छ । पहिलो उडानबाट सुनसरीका ५३ जना र हज प्रतिनिधिमण्डलका दुई जना गरी ५५ जना साउदीको मक्का पुग्नेछन् । त्यसैगरी जेठ ४ गते सुनसरीका १ सय १९ जना र हज प्रतिनिधि १ जना गरी १ सय २० जना मक्का पुग्नेछन् ।
पर्सा, बारा र रौतहटका हज यात्रीहरुलाई जेठको ७ गते बुधबार उडान तालिका मिलाइएको छ । यस वर्ष पर्साका ७० जना, बाराका ३५ जना र रौतहटका १ सय २२ जना हज गर्न मक्का जादैछन् ।
मधेश प्रदेशको आठ वटै जिल्लाबाट यसवर्ष ४ सय ३४ जना हज यात्रीहरु मक्का जादैछन् । सर्लाहीबाट २६, महोत्तरीबाट ४०, धनुषाबाट २९, सिरहाबाट २९ र सप्तरीबाट ६९ जना हजयात्री मक्का प्रस्तान गर्नेछन् । हज यात्रीहरुको अन्तिम उडान जेठ ८ गते बिहीबार हुने छ । त्यसमा महोत्तरी, धनुषा, स्याङजा, चितवन, मकवानपुर, नवलपरासी पश्चिम, पाल्पा, बाग्लुङ, गोरखा, तनहुँ, रुपन्देही, सिरहा, काठमाडौंका हज यात्रीहरु साउदी जाने तालिका रहेको छ ।

सन् २०२५ मा हज प्रतिनिधिसहित कुल १ हजार १ सय ५२ जना हज यात्री मक्का प्रस्तान गर्नेछन् । हज समितिले हज यात्रीहरु काठमाडौं आइपुग्नु पर्ने मिति र सम्पर्क स्थान पछि सूचित गर्ने जनाएको छ । यसअघिका वर्षहरुमा नेपाल हज समितिले काठमाडौंको घण्टाघरमा रहेको नेपाली जामे मस्जिदसँगै रहेको मदरसा र पञ्च ताकिया काश्मिरी जामे मस्जिदमा हजयात्रीहरुको गाँस र बासको व्यवस्थापन गर्दै आएको छ । हज यात्रामा जानु अघि यात्रीहरुको स्वास्थ्य परिक्षण, साउदी अरबको नियम कानून, हज गर्ने तरिकाको बारेमा जानकारी दिने गरेको छ ।