ट्रेन्डिङ

तराई-मधेशमा जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदै

जनकपुर। तराई-मधेशका विभिन्न जिल्लामा आज जुडशीतल पर्व हर्षोल्लासका साथ मनाइँदैछ।

नयाँ वर्षको अवसरमा मनाइने दुईदिने यस विशेष पर्वको पहिलो दिन ‘सतुवाइन’ हिजो सोमबार मनाइएको थियो भने आज जुडशीतल पर्व परिरहेको छ।

विक्रम संवत् परम्पराको नयाँ वर्षको शुरुवातसँगै मनाइने जुडशीतल पर्वमा स्वास्थ्य, दीर्घायु र शीतलताको कामना गरिन्छ।

पहिलो दिन सातथरी खाद्यान्नबाट बनाइएको सातु र सख्खर मिसाएर बनाइएको सर्वत कूलदेवतालाई चढाएर ब्राह्मण, कूलपुरोहित तथा साधुहरूलाई दान दिने परम्परा रहेको छ।

आजको दिन, घरका ज्येष्ठ सदस्यहरूले कान्छालाई शिरमा जल सिञ्चन गर्दै आशीर्वाद दिने परम्परा छ।

मिथिला क्षेत्रमा कूलदेवताका लागि विशेष पूजाआराधना गरिने केही पर्वमध्ये जुडशीतल एक महत्वपूर्ण पर्व मानिन्छ।

यस पर्वमा परम्परागत रूपमा शरीरलाई शीतलता दिने र सुपाच्य परिकारहरू पकाइने गरिन्छ।

खासगरी दही, सोहिजनको तरकारी, चनाको पीठोबाट बनाइने बरी र त्यसलाई दहीमा मथेर तयार पारिने ‘कढीबरी’, साथै काँचो केरा, लौका, परवलसहितका तरुवा प्रमुख परिकारका रूपमा मानिन्छन्।

८७ वर्षीय मैथिल संस्कृति जानकार तथा साहित्यकार महेश्वर रायका अनुसार, जुडशीतल पर्वले जीवनमा शीतलता ल्याओस् भन्ने कामनासहित शरीरलाई ऊर्जा दिने परिकारको सेवन गरिन्छ।

गर्मी मौसमा मनाइने यो पर्व स्वास्थ्य र प्रकृतिप्रतिको कृतज्ञता व्यक्त गर्ने अवसर पनि हो।

सहकार्य र आपसी सद्भावको सन्देश बोकेको यो पर्वमा खेतबारीका रुखबिरुवामा पानी सिञ्चेर वर्षभरि पर्याप्त वर्षाको कामना गर्ने गरिन्छ।

जनकपुर -५ का मनोजा झा भन्छन्, “नयाँ वर्षसँगै जुडशीतल पर्वले खेतीपातीमा अनुकूलता ल्याओस् भन्ने विश्वास रहेको छ।”

पर्वका अवसरमा आज तराई–मधेशका विभिन्न स्थानमा साथीसँगीबीच हिलो छ्यापाछ्याप गर्दै पर्वको रमाइलो गर्ने तयारी पनि भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै