वीरगन्ज। पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबीचको दोहोरो झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बल प्रयोग गरेको छ ।
झडप उग्र भएपछि प्रहरीले ७० राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै दुई राउण्ड हवाइ फायर समेत गरेको हो ।
झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्।
यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् ।
सर्वसाधारणतर्फ पनि केही घाइते भएको बताइएपनि यकिन विवरण आइसकेको छैन ।
यसरी झडप उग्र बनेसँगै स्थानीय प्रशासनले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।