
बीरगन्ज । वडा दशैं आजदेखि सुरु भएसंगै मन्दिरहरुमा दर्शनाथीको घुँइचो बढ्न थालेको छ । दशैं हिन्दु धर्मावलम्बी ठूलो पर्व भएको हुनाले अन्य समयको तुलनामा यो समयमा झन बढी घुइँचो लाग्न थालेको हो ।
वडा दसैँको पहिलो दिन पर्सासहित बारा लगायतका शक्तिपीठहरुमा दर्शनाथीको घुँइचो लागेको छ । माइस्थान मन्दिर, वैष्णो देवी मन्दिर, अलखिया मठ माइ, रामजानकी मन्दिरसहितका शक्तिपीठमा भीडभाँड बढ्न थालेको देखिन्छ ।
सबै मन्दिरमा दर्शनाथीहरुले हिन्दु परम्पराअनुसार घटस्थापनाका दिन देवी देवताको पूजा आराधना गर्ने गरिन्छ । त्यसकारण घटस्थापनाका दिनदेखि बीरगन्जसहित पर्सा, बाराका मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भिड लाग्ने गर्दछ ।
यसैबिच बिजया दशमीको पहिलो दिन अर्थात् घटस्थापना आजदेखि बीरगन्जमा दसैँ मेला सुरु भएको छ ।
यो मेला दशदिनसम्म अर्थात् नवरात्रभर लाग्ने गर्दछ । नवमीसम्म लाग्ने यो मेलामा पसलेहरु सडकभरी व्यापार थापेर बसेका हुन्छन् ।
माइस्थान, बैष्णो देवी मन्दिर लगायतका शक्तिपीठलाई विशेष किसिमले फूलमालाका साथै झिलिमिली लगाएर सजाइएको छ ।
विशेषगरी माइस्थान मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई कुनै किसिमको असुविधा हुन नदिन विशेष स्वयंसेवक टोलीसमेत परिचालित गर्ने गरिन्छ ।
यो मन्दिरमा सप्तमी र अष्टमी तिथिमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको छ ।