जनकपुर । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले लागु औषध नियन्त्रणका लागि प्रदेश तथा स्थानीय तहले समन्वय गर्नुपर्नेमा जोड दिएकी छन् । उनले लागु औषध नियन्त्रणका लागि प्रदेश र स्थानीय तहले समन्वय गरी एक अर्कासँग समन्वय गरी वृहत् अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागुऔषध नियन्त्रणसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामूलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
लागुऔधषको सेवनमा युवा वर्गको बढी सहभागिता देखिएको बताउँदै मन्त्री तिवारीले विद्यार्थीलाई विद्यालयमै गएर लागुऔषधको प्रयोगबाट हुने असर र नोक्सानीबारेमा चेतना गराउनुपर्ने बताइन् ।
लागुऔषधको सेवनकर्ता अपराधी नभई रोगी भएको भन्दै समयमै उपचार भएमा धेरैजसो सेवनकर्ताको जीवनमा आमूल परिवर्तन उनको जिकिर छ । कङ्क्रिटको विकास गरेर मात्र सामाजिक विकास हुन नसक्ने भएकाले समाज परिवर्तनका लागि सामाजिक विकासमा जनप्रतिनिधिले बजेट विनियोजन गर्नुपर्ने धारणा राखिन् ।
दुवै देशका सुरक्षा अधिकारीको सिमा सुरक्षा बैठकमा यस विषयलाई गम्भीरताका साथ उठान गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘भारतीय सिम क्षेत्रका औषधी पसलमा नेपाली युवालाई सहजरूपमा दिदैआएको लागुऔषधको सन्दर्भमा भारतीय सुरक्षाकर्मीले समेत यस विषयमा गम्भीर भई रोक्न आग्रह गर्न छ ।’