वीरगन्ज । काठमाडौंको घट्टेकुलोमा डेरा गरी बस्दै, सरस्वती क्याम्पसमा बीबीए प्रथम वर्षमा अध्ययनरत वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ का २१ वर्षीय बिरन्जन यादव ले बलात्कारको झुटो आरोपमा ५ वर्ष ८ महिना जेल जीवन बिताएपछि निर्दोष ठहर भएका छन्।
सर्वोच्च अदालतको फैसलाले उनलाई सफाइ दिएसँगै उनी रिहा भएका छन्, तर अब उनको अगाडि समाजमा पुनर्स्थापित हुने अर्को कठिन लडाइँ सुरु भएको छ। यो सम्पूर्ण प्रक्रियामा उनका बुवाको अथक त्याग पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।
२०७६ भदौ २३ गते महिला सेल, कालीमाटीबाट खटिएका प्रहरीले बिरन्जनलाई पक्राउ गर्दा उनको पढाइ र भविष्य दुवैमा गम्भीर असर पुग्यो। उनीमाथि आफूभन्दा तल्लो फ्ल्याटमा बस्ने एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्। किशोरीले उनले आफूलाई झुक्काएर, धम्की दिँदै कोठामा लगेर मुख थुनी जबरजस्ती करणी गरेको दाबी गरेकी थिइन्। घटना भएको करिब एक महिनापछि किशोरी प्रहरीकहाँ पुगेकी थिइन्, जसलाई अधिवक्ताहरूले ुआफ्टर थटु को संज्ञा दिएका छन्।
बीरन्जनले काठमाडौं जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा मुद्दा लड्नुपर्यो। २०७७ असोज २६ मा काठमाडौं जिल्ला अदालतले उनलाई १२ वर्ष कैद सजाय सुनाएको थियो, जसमा पीडित नाबालिग रहेको कुरालाई मुख्य आधार मानिएको थियो। त्यसपछि उच्च अदालत पाटनले २०७८ फागुन २६ मा सजाय घटाएर ७ वर्ष कायम गर्यो।
सामान्य परिवारमा जन्मेका बिरन्जनको परिवारसँग मुद्दा लड्ने पैसा थिएन। उनका बुवा वीरगन्जस्थित नेशनल मेडिकल कलेजका चालक हुन् र सामान्य तलबले परिवार धान्न धौधौ थियो। यस्तो विषम परिस्थितिमा पनि छोरालाई न्याय दिलाउन उनले ठूलो संघर्ष गरे। अधिवक्ता डा। गजेन्द्र अर्यालले सर्वोच्चमा बिरन्जनको पक्षमा निःशुल्क बहस गरिदिए, जसको फलस्वरूप २०८२ वैशाख ३१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई सफाइ दिने फैसला गर्यो।
मुद्दाको अनुसन्धान र अभियोजनका क्रममा पीडितले आफ्नो उमेर र नाम समेत ढाँटेको प्रमाण भेटियो। घटना हुँदा पीडित १८ वर्ष पूरा भइसकेको जन्मदर्ता रजिस्टरबाट पुष्टि भयो, जुन अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलले भेरिफाइ नगरी मुद्दा अदालतमा लगेको देखिएको छ। स्वास्थ्य परीक्षण रिपोर्टले पनि पीडितको कन्याजाली सामान्य अवस्थामा रहेको देखाएको थियो, जसले बलात्कारको आरोपलाई कमजोर बनायो।
अनाहकमा जेल बसेको पीडा र अबको चुनौती
बीरन्जनले आफू वारदात भएको भनिएको स्थानमा नरहेको बताउँदा पनि अनुसन्धान अधिकृतहरूले घटनास्थलमा उनको उपस्थितिको जाँचबुझ नगरेको उनको गुनासो छ। गम्भीर प्रकृतिको फौजदारी अपराधमा प्रहरी र सरकारी वकिलको लापरबाहीले गर्दा सम्भावना बोकेका एक युवाले अनाहकमा लामो समय जेल बस्न बाध्य हुनुपर्यो।
२०८२ जेठ २ गते रामेछाप कारागार कार्यालयबाट रिहा भएका बिरन्जन अब आफ्नो गाउँघर वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ मा पुनर्स्थापित हुने अर्को संघर्षमा छन्। परिवारको आर्थिक अवस्था सामान्य भएकाले यो लडाइँ पनि संघर्षपूर्ण बन्ने देखिन्छ। यस घटनाले न्यायिक प्रक्रियामा हुनसक्ने त्रुटि र त्यसले सामान्य जीवनमा पार्ने गम्भीर असरलाई पुनः उजागर गरेको छ।