काठमाण्डौँ । देशभरि सञ्चालनमा रहेका अवैध क्रसर बन्द गर्न विज्ञहरूले सुझाव दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुधबार पूर्वाधार, जलस्रोत, जलवायु परिवर्तन लगायत क्षेत्रका विज्ञसँग गरेको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
छलफलमा विज्ञले जलवायु परिवर्तनको प्रभाव र असर मध्यनजर गरी पूर्वाधार निर्माणका योजना बनाउन सुझाव दिए । संरचना विज्ञ राजन सुवालले खोला–नदीको प्राकृतिक बहाब रोकेर कुनै पनि संरचना निर्माण गर्न नहुने बताए ।
प्रकृति र पर्यावरण प्रतिकूल संरचनाले मानवीय र भौतिक क्षतिसमेत बढाउने भएकाले यस्ता संरचना निर्माण निरुत्साहित गर्नुपर्ने उनको सुझाव छ ।
पूर्वसचिव तुलसी सिटौलाले क्रसर तथा खानीजन्य वस्तु उत्खनन वैज्ञानिक बनाउनुपर्ने बताए । मुख्य राजमार्गसँग जोडिएर खोलिने सहायक सडक जथाभावी खोल्न नदिन कडा मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ ।
पहिरो विज्ञ मुकेश अमात्यले जलवायु परिवर्तनको असर र प्रभावप्रति सजग हुन आवश्यक रहेको बताए । उनले अवैध रूपमा क्रसर सञ्चालन गर्ने र जथाभावी नदीजन्य सामग्री उत्खनन गर्ने कार्य रोक्न ढिला भइसकेको बताए ।
भूगर्वविद् रञ्जनकुमार दाहालले सडक तथा पुल निर्माण गर्दा भुइँको सुरक्षामा मात्र नभई भित्तो र पहराको सुरक्षामा पनि ध्यान दिनुपर्ने बताए ।
अन्य विज्ञले जोड दिएको अवैध क्रसर नियन्त्रणमा उनको पनि जोड छ । जलस्रोत विज्ञ चुर्णबहादुर ओलीले नदी कटानबाट हुने क्षति रोक्न सडक तथा पुल निर्माणसँगै नदी किनाराको व्यवस्थापन पनि उत्ति नै जरुरी रहेको बताए । क्षति न्यूनीकरणका लागि सूचना प्रविधि उपयोगमा पनि जोड दिनुपर्ने उनको भनाइ छ ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरिङका अध्यक्ष राजेन्द्र शर्मा काफ्लेले जथाभावी क्रसर उद्योग सञ्चालनले पर्यावरण र पूर्वाधार दुवैमा क्षति गरिरहेको बताए ।
जलवायु विज्ञ अर्चना श्रेष्ठले मौसम पूर्वानुमान, सूचना प्रवाह र कार्यान्वयनमा ध्यान दिन सके क्षति न्यूनीकरण गर्न सकिने बताइन् ।
नेपाल ईन्जिनियर एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले पूर्वाधार निर्माण र सुरक्षाका लागि परम्परागत विधि र प्रक्रियामात्र प्रभावकारी नहुने भएकाले नवीन प्रविधि अध्ययनमा जोड दिनुपर्ने बताए ।
विज्ञहरू गजेन्द्र थपलिया, बसन्तराज अधिकारी लगायतले न्यूनीकरण र सुरक्षित संरचना निर्माण गर्न दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।
जलस्रोत विज्ञ नरेन्द्रमान शाक्यले वर्षा तथा बाढीको स्वरूप दृष्टिगत गरी योजना बनाएर सोही अनुसार संरचना निर्माणमा लाग्नुपर्ने बताए । विदेशमा गरिएका अभ्यास र शैली नेपाली भूबनोट अनुकूल छन् कि छैनन् भनेर विश्लेषण गरेरमात्र अनुशरण गर्नुपर्ने उनको सुझाव छ ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विज्ञका राय सुझाव समेटेर नीति निर्माण र योजना कार्यान्वयनमा समेत ध्यान दिइने बताए ।
भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्माले सुरक्षित पूर्वाधार निर्माण, पूर्वाधार रक्षाजस्ता विषयका लागि जनशक्ति क्षमता विकासमा समेत ध्यान दिइने बताए ।