ट्रेन्डिङ

शिक्षा मन्त्रालयले भन्यो – नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारप्रति गम्भीर छौँ, समस्यालाई न्यायपूर्ण रुपमा समाधान नगरिए ‘एनओसी’ रोक्नेछौ

काठमाडौँ । शिक्षा मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने ‘एनओसी’ रोक्ने चेतावनी दिएको छ ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिइएको हो । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्साल आइतबार मृत भेटिएकी थिइन् ।

उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने मन्त्रालयको चेतावनी छ ।

केआईआईटीमा अध्ययनरत नेपाली छात्रा लम्सालको रहस्यमय मृत्यु भएको थियो । त्यसपछि नेपाली विद्यार्थीहरूप्रति भएको व्यवहारका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जनाए ।

विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय रहेको उनको भनाई छ ।

मन्त्रालयले घटनाबारे जानकारी पाएलगत्तै कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई सोमबार नै अनुरोध गरेको थियो । उक्त घटनापछि विद्यार्थीहरूलाई यथाशीघ्र पठनपाठन कार्य पूर्ववत् सुचारु गराउने व्यवस्था मिलाउन समेत भारतको सरकारको ध्यानाकर्षण गराएको थियो । 

विद्यार्थीहरूले निर्बाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताका लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत मन्त्रालयले निरन्तर पहल गरिरहेको जनाएको छ । त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकस्मिक सहजीकरण एवं सहायता प्रदान गर्न सहायता कक्ष समेत स्थापना गरेको छ । 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै