
वीरगन्ज । घुरबाट आगो सल्किएर गोठभित्रका १८ वटा पशुचौपायाको मृत्यु भएको छ ।
पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ शंकरसरैया टोलमा एक स्थानीयको गोठमा आगलागी हुँदा उक्त पशुचौपायाको मृत्यु भएको हो ।
लालबहादुर दास थारुको खरले छाएको फुसको गोठभित्र बालेको घुरबाट अचानक आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीमा परी गोठभित्रका १० वटा बाख्रा, ८ वटा बोका तथा काठ गरी घर पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्स्पेक्टर प्रकाश थापाले बताए ।
उनका अनुसार आगलागीका कारण मानवीय क्षति भने भएको छैन । आगोका कारण दुइ लाख ५० हजार मूल्य बराबरका धनमालको क्षति भएको उनको भनाइ छ ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।