ट्रेन्डिङ

रासायनिक मलको प्रयोग अत्यधिक हुँदा माटोको उर्वरा शक्ति घट्यो : मुख्यमन्त्री सिंह

धनुषा । मधेस सरकारका मुख्यमन्त्री सतिश सिंहले वातावरणमैत्री खेती तथा जीवन प्रणाली हरेकले अवलम्बन गर्न जरुरी रहेको औल्याएका छन् ।

सोमबार जनकपुरधाममा आयोजित नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलन धान खेतीका लागि वैकल्पिक भिजाउने र सुकाउने प्रविधि विषयक कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो औल्याएका हुन् ।

कार्यक्रममा बोल्दै उनले रासायनिक मलको अत्यधिक प्रयोग हुँदा पनि माटोको उर्वरा शक्ति घटेको बताए । वातावरणमैत्री खेतीमा जोड दिनका लागि प्रदेश सरकारले प्राङगारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्ने नीति लिएको उल्लेख गरे ।

यस्तै प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले चुरे तथा वन विनाशका कारण वातावरणमा नकारात्मक असर पारेकाले चुरेको संरक्षण गर्नु सबैको दायित्व रहेकोमा जोड दिए ।

मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोग तथा ग्लोबल इन्भारोमेन्ट प्रोटेक्सन सेन्टर एवं भ्यालु नेटवर्क भेन्चरको आयोजनामा भएको कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, नेपालमा जलवायु अनुकूल धानको खेतीका विषयमा विज्ञ निलम शर्मा रिजाल र मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव विनय कर्णले प्रस्तुति गरेका थिए ।

त्यसैगरी कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहनप्रसाद साह, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्ण, राजनीतिक सल्लाहकार संजयकुमार यादवसहित सरोकारवालाहरु समेतको उपस्थिति थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै