
वीरगन्ज । भारतले यसवर्ष समयमै गण्डक नहरमा पानी छाडेको छ । भारतले यस वर्ष तोकिएकै समय अर्थात् पुष १५ गतेदेखि नै नहरमा पानी छाडेको हो ।
पर्सादेखि रौतहटसम्म फैलिएको यस नहरमा समयमा पानी दिँदा करिब १८ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँबालीमा सिँचाइ सहज भएको छ ।
नारायणी सिँचाइ ब्यवस्थापन कार्यालय वीरगञ्जका प्रमुख मनोजप्रसाद पटेलका अनुसार भारतले पानी छाडेको ४ दिनमै पर्सा–बारा–रौतहटको १३ नम्बर ब्लकसम्म पुगिसकेको थियो ।
सुरुमा विस्तारै छाड्दै जाने तर पछि पानीको मात्रा बढाएर ८५० क्युसेकसम्म दिने सम्झौता भएको उनले बताए । उनी भन्छन्, ‘सुरुमा कुनै दुघर्टना नहोस् भन्ने अभिप्रायले नहरमा धेरै कम पानी छाडिन्छ । त्यसपछि विस्तारै बढाएर आठसय ५० क्यूसेक पानी नेपाललाई भारतले दिने सम्झौता भएको छ ।’
नारायणी सिँचाइ व्यवस्थापन कायाृलय वीरगन्जका इन्जिनियर सुरेशप्रसाद साहका अनुसार अहिले पौने पाँचसय क्युसेक पानी गण्डक नहरमा आइपुगेको छ ।
गण्डक नहरमा भारतले धान बाली सिँचाइका लागि असार १५ देखि कात्तिक १५ सम्म र गहँु बालीको लागि पुस १५ देखि फागुन १५ सम्म ८ सय ५० क्यूसेक पानी छोड्ने सम्झौता गरेको छ ।