
वीरगन्ज । मकवानपुरमा बाघले बाख्रा खाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ आलदमारमा बाघले बाख्रा खाएको हो ।
आज बिहान स्थानीय पूर्ण सिंह लोप्चनको कच्ची गोठबाट एउटा बाख्रालाई बाघले बाहिरबाट तानेर आधा खाएको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए । उनका अनुसार बाख्राको आधा बाँकी भाग भने बाँधेको डोरीमा छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पदमपोखरीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार पारेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगर तथा पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीहरुसँग समन्वय गरी बाघको खोजतलास सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनायो ।