ट्रेन्डिङ

आर्थिक अभावमा मधेस कृषि विश्वविद्यालयको कामकाज ठप्प

सप्तरी । मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । विश्वविद्यालय सभाबाट अहिलेसम्म बजेट पारित नहुँदा विश्वविद्यालयको कामकाज प्रभावित बनेको हो ।

चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा समेत त्यहाँको बजेट पारित भएको छैन । जसकारण पठनपाठनदेखि निर्माणाधीन भवनको कामकाज समेत अस्तव्यस्त भएको हो ।

शिक्षा मन्त्रालयको पत्र नआएर भर्ना खोल्न ढिलो भएको हो तर भदौ १९ गते भर्ना खोलेको थियौँ, देशैभरबाट एक सय ११ जनाले फर्म त लिएका छन् यद्यपी आर्थिक अभावमा प्रवेश परीक्षा सञ्चालन गर्न नसकेको मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुर बताउँछन् ।

उनका अनुसार शिक्षामन्त्रीको नेतृत्वको सिनेटको बैठकले हालसम्म पनि विश्वविद्यालयको बजेट पारित गरेको छैन जसकारण आर्थिक कारोबारहरु ठप्प छन् ।

आर्थिक कारोबार नै ठप्प बन्दा विश्वविद्यालयमा कार्यरत १९ जना कर्मचारी पाँच महिनादेखि तलब नपाएको रजिष्ट्रार डा. ठाकुरले बताए । त्यस्तै आर्थिक अभावमा राजविराज नगरपालिका–१३ स्थित विश्वविद्यालयको निर्माणाधीन भवनको काम पनि प्रभावित बनेको छ ।

निर्माण काम गरिरहेको ठेकेदार कम्पनी ओम साई राम कन्स्ट्रक्सन सातदोबाटेले भुक्तानी नपाएपछि निर्माण काम ठप्प गर्ने अवस्था आएको कम्पनीका इन्जिनियर वसन्त साह बताउछन् । उनका अनुसार ठेकेदार कम्पनीका मूल्य अभिवृद्धि करसहित रु सात करोड ५२ लाख १६ हजार दुई सय ९५ को बिल भुक्तानी नभएकाले काम ठप्प गर्नुपर्ने बाध्यता आएको हो ।

विश्वविद्यालयका सहकुलपति मधेस प्रदेश सरकारका शिक्षामन्त्री रानी शर्मा तिवारीले कात्तिक ३० गते र पुस ५ गते दुई पटक सिनेटको बैठक डाके पनि अन्तिम समयमा आएर स्थगित भएको थियो । पछिल्लो समय पुस १६ गते बसेको सिनेटको बैठकमा पनि कुनै निर्णय हुन नसकेको विश्वविद्यालयका उपकुलपति डा वैद्यानाथ महतोले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै