वीरगन्ज । स्रोत नखुलेको रकमसहित सप्तरीबाट दुइ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर ७ बस्ने ३५ वर्षका महेन्दर साह र छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने ४० वर्षका रबिन्द्र कुमार यादव रहेका छन् ।
महेन्दरले आफ्नै घरमा अवैध रुपमा ईजाजत पत्र प्राप्त नगरी बैँक तथा वितीय कारोबार गर्ने गरेको खबर प्रहरीलाई गएको थियो । सोही सूचनाको आधारमा प्रहरीले उनको घरमा छापामारी गरी स्रोत नखुलेको १४ लाख ७०० रुपैँया बरामद गरेको प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताए ।
प्रहरीले उनको कोठामा रहेको टेबलमा दुइटा कालो प्लाष्टिकमा पोको पारेर बन्डल बनाएर राखिएको अवस्थामा नेपाली एक हजार दरको ३१६ थान, पाँच सय दरको २१६८ थान र एकसय दरको ७ थान गरी उक्त रकम फेला पारेको हो ।
पक्राउ परेकामाथि सोधपुछ गर्दै जाँदा घटनामा रबिन्द्रको संलग्नता समेत देखिएकाले उनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरुमाथि बैँक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ अन्र्तगत कसूरमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।