वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा एक जना पुरुषको शव बरामद भएको छ । नगरपालिकाको वडा नम्बर ४ हर्दासपुर बस्ने हृदयनारायण प्रसाद कुर्मीको शव बरामद भएको हो ।
उनी हिजो साँझ दाउरा लिन सामुदायिक वनतर्फ गएका थिए । त्यसपछि सम्पर्कविहिन रहेका उनको शव आज बिहान भेटिएको प्रहरीले जनाएको छ ।
आज बिहान दाउरा टिप्न जंगल गएका केहि स्थानीयहरुले ढलेको अवस्थामा उनको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले दाउरा लिएर आउने क्रममा ढोरियामाई जङ्गल क्षेत्रमा साइकल ‘स्याट्न्ड’ लगाएको तथा साइडमा उनलाई लडेको अवस्थामा फेला पारेको हो ।
उनको शरिरमा कुनै चोटपटक नलागेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका इन्स्पेक्टर प्रकाश थापाले बताए । कुर्मी मानसिक रुपले असक्त रहेको, कमजोरी तथा चिसोका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शवको मुचुल्का तयार पारी पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जानकारी दिएको छ ।