धनुषा । मधेस सरकारका मुख्यमन्त्री सतिश सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन डीपीआर तयारी अवस्थामा रहेको बताएका छन् ।
आइतबारदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पुष २२ गते अर्थात् भोली राष्ट्रिय खेलकुद परिषद र गुठी संस्थानसँग मधेश प्रदेश सरकारले ग्राउण्डका लागि सम्झौता गर्ने र पास हुनेबित्तिकै मन्त्रीपरिषद्बाट निर्णय गरेर फाइल काठमाडौं पठाउने मुख्यमन्त्री सिंहले जनाए ।
करिव ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेश प्रदेश सरकारबाट लगानी गर्नेसमेत उनले जानकारी दिए ।
प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रीपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दूतावासमा गएपछाडि मात्र टेन्डर गर्न सक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेन्डर हुन नसकेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएको कारणले टिप्पणी उठाउन नसकिएको जानकारी दिंदै उनले स्टेडियमका लागि साढे २ देखि ३ अर्बसम्मको टेन्डर हुने बताए ।
मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेश प्रदेश सरकार अगाडि बढेर जहिलेपनि यहाँका युवाहरुको वृति विकासमा सँगै रहने प्रतिबद्धतासमेत जनाएका छन् ।