ट्रेन्डिङ

नारायणी अस्पतालमा बिरामी बढे, चिसोबाट बच्न चिकित्सकको आग्रह

वीरगन्ज । केही दिनयता पर्सासहित तराई मधेसमा चिसो अत्यधिक बढेको छ । चिसोका कारण सरकारी अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाँप बढेको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालमा पनि दम, रुघाखोकी, भाइरल ज्वारो, इन्फेक्सन, निमोनिया, झाडापखाला, पेट दुख्ने लगायतका रोगको उपचारका लागि आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाइएको छ ।

अस्पतालका फिजिसियन डा. उदयनारायण सिंहका अनुसार केहिदिनदेखि बढेको अत्यधिक चिसोका कारण अस्पतालमा चेकजाँचका लागि आउने बिरामीहरुको सङख्या बढेको छ । अस्पतालमा अहिले नियमित उपचारका लागि मात्र ७०० देखि ८०० सम्म बिरामीहरु चेकजाँचका लागि जाने गरेका छन् ।

उनीहरुमध्येओपीडी तथा आकस्मिक कक्षमा मात्र दैनिक १०० जनासम्म  श्वासप्रश्वासका बिरामीहरु आउने गरेका उनले जानकारी दिए । उनीहरुमध्ये १० प्रतिशतलाई भर्ना गरेर उपचार गर्ने गरिएको उनको भनाइ छ । अस्पताल आउनेहरुमा विशेष गरेर बालबालिका र वृद्धवृद्धा हुने गरेका छन् ।

सामान्य अवस्थामा भने यहाँ उपचारका लागि ६० देखि ७० जनासम्म त्यस्ता बिरामीहरु आउने नारायणी अस्पतालले जनाएको छ ।

चिसोबाट कसरी बच्ने ?

जाडो मौसममा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् । जाडोमा ब्याक्टेरिया र भाइरस सक्रिय हुने हुँदा विभिन्न स्वास्थ्य समस्या देखिने हुनाले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको भनाइ छ । चिकित्सकका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् ।

केहीदिनदेखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने हुन्छ । चिसोबाट बँच्न न्यानो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।

विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन डा. सिंहको सुझाव छ । बालबालिका र ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान–बेलुका विशेष ध्यान दिनुपर्ने जनाइन्छ ।

चिसोमा सरुवा रोगमा श्वासप्रश्वास र पेटसम्बन्धी समस्या बढी देखिने भएकाले तातो न्यानोमा बस्नु पर्ने, टोपी, मोजा सुइटरलगायतमा ध्यान दिनुपर्ने बताइन्छ ।

चिसोबाट बच्न अत्यावश्यक काम बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कन र निस्कनुपरेमा न्यानो लुगा लगाएर हिँड्न डा. सिंहले आग्रह गरेका छन् । उनका अनुसार जाडोमा छातीसम्बन्धी समस्या देखिन सक्छ  । त्यसैले विशेषगरी, मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्नुपर्छ ।

त्यस्तै, जाडोमा हुस्सु लाग्ने र शीत पर्ने हुँदा बिहानै मर्निङवाक नजान डाक्टरहरुको सुझाव छ । उनीहरु भन्छन्, ‘बिहानै हिँड्दा अत्यधिक चिसोले रक्तनली साँघुरिएर मुटुमा समस्या आउने र हृदयघातसमेत हुने सम्भावना बढ्ने भएकाले बिहानभन्दा घाम लागेपछि न्यानो लुगा लगाएर मर्निङवाकमा जानु उपयुक्त हुन्छ ।’

जाडोमा जोर्नी दुख्ने समस्या पनि धेरैमा देखिन्छ । यस्तो समस्याबाट बच्न न्यानो भई बस्न आगो, हिटर, घाम ताप्न चिकित्सकको सुझाव छ ।

यस्तै जाडोमा प्रोटिनयुक्त खानेकुराले शरीरमा तातोपन बढाउने हुँदा यस्ता खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् । तातो झोलिलो खानेकुरा तथा सागसब्जी प्रशस्त खाने, गेडागुडीको झोल बनाएर बेलाबेलामा खाँदा शरीर तातो बनाउन मद्दत गर्ने डा. सिंहको भनाइ छ ।

घाम लागेको बेलामा घाम तापेर बस्ने, आगो ताप्ने शरीरको तापक्रम सन्तुलन बनाएर राख्न चिकित्सकको सुझाव छ । छालालाई न्यानो बनाउने बेला–बेलामा म्योस्चराइज क्रिम लगाउन उनीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै