वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले छठ पर्वलाई लक्षित विशेष सुरक्षा योजना तयार पारेको छ । छठ पर्वलाई सुरक्षित रुपले सम्पन्न गर्नका लागि विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पर्सा प्रहरीले जनाएको छ ।
भिडभाड हुने स्थानमा पर्याप्त जनशक्तिको परिचालनका साथै सीसीटीभी क्यामराबाट ‘मोनिटरिङ’ (निगरानी) गरिने रणनीति तय गरिएको पर्सा प्रहरीको भनाइ छ ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता दीपक भारतीका अनुसार यो पर्वलाई मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
चाडपर्वमा हुने विभिन्न आपराधिक घटना, चोरी डकैती लगायतलाई मध्यनजर गर्दै सुरक्षित हिसाबले चाडपर्व मनाउन र सुरक्षा प्रदान गर्न व्यापक प्रहरी परिचालन गर्ने तयारी गरिएको उनको दाबी छ ।
उनका अनुसार पर्सा प्रहरीले छठ पर्वका लागि मात्रै ६०० जना प्रहरी परिचालन गर्ने खाका तयार पारिएको छ । त्यसको अलावा आवश्यक परेको खण्डमा प्रहरी जनशक्ति थप गरी सुरक्षा चुस्त बनाउने रणनीति तयार पारिएको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।
यसैगरी ट्राफिक प्रहरी, छठघाट व्यवस्थापन समिति, नागरिक अगुवा, स्वयंसेवकहरु समेत नागरिकको जिउधनको रक्षा गर्न खटिने पर्सा प्रहरी बताउँछ ।
कति छठघाट ?
छठ पर्व तराइँको ठूलो पर्व हो । सबै भन्दा आस्थाका साथ मानिने भएकाले यो पर्वको बेग्लै महत्व छ । त्यसकारण छठ पर्वका अवसरमा जिल्लाका नदी किनारा तथा पोखरीस्थितका घाटहरु बेहुली झैं सिँगारिने काम भइरहेको छ ।
एक विवरण अनुसार जिल्लाका विभिन्न पालिकाहरुमा घाटमा पूजाका लागि तयारी जोडतोडले भइरहेका छन् । यसवर्ष पर्सा जिल्लाभर झण्डै साढे ३०० छठघाट निर्माण गरी पूजाको तयारी भइरहेको पर्सा प्रहरीको अभिलेख छ ।
प्रहरी प्रवक्ता भारतीका अनुसार जिल्लाभर गरी ३ सय ४७ वटा छठ घाट तयारी पारिएको छ । १४ वटै पालिकाहरुमा गरी उक्त सङख्यामा घाटहरु सिँगारिने काम भइरहेको छ ।
जसमध्ये सबैभन्दा ठूलो वीरगन्जको घडीअर्वा पोखरी रहेको बताइएको छ । घडीअर्वा पोखरीस्थित घाटमा लाखौँ भक्तजनहरु आउने गर्दछन् । यसलाई मध्यनजर गर्दै उक्त घाटलाई दुलही झै सिंगारिएको छ ।यहाँ झण्डै ४० देखि ५० सिसिटीभी क्यामराबाट ‘मोनिटरिङ’बाट सबैको निगरानी तयारी रहेको डिएसपी भारती बताउँछन् ।
यसैगरी नगुवा, इनर्वा, सिर्सिया, मूली, रानीघाट, माइदिया, सोलकपुर, परसवा लगायत गरी जिल्लाभर ३४७ वटा छठघाटहरु तयारी भएका उनले जिकिर गरे ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरू हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसवर्ष यही कात्तिक २२ गते भोली साँझ घाट परेको छ ।