काठमाण्डौँ । भारतको ओडिसास्थित केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि सिर्जित परिस्थितिबारे छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन भएको छ ।
ओडिसा प्रदेश सरकारको सूचना तथा जनसम्पर्क विभागले प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो ।
समितिमा गृह विभागबाट अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागबाट प्रमुख सचिव, र उच्च शिक्षा विभागबाट आयुक्त सहसचिव सदस्य रहने भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘कलेजमा प्रर्दशन गरिएका विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही पनि हुनेछ । यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्चस्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ ।’
विज्ञप्तिमा प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याणका लागि सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ । ‘ओडिसा सरकारले सबैलाई न्यायका लागि आवश्यक कदमहरु चाल्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।
साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
कलेजका सुरक्षागार्ड र बाउन्सरहरूले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।
उक्त विषयमा मंगलबार दिउँसो ओडिसाको विधानसभामा पनि कुरा उठेको थियो ।