ट्रेन्डिङ

मुर्ली चोकदेखि बाइपास निस्कने सडक छेउका संरचना १५ दिनभित्र हटाउन वीरगन्ज महानगरको आग्रह

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्वर १२ र १३ को साँधमा पर्ने मूर्ली चोकदेखि पूर्वतर्फ जाने सडक स्तरोन्नती गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरपालिकाले यसबारे बताएको हो ।

सूचना जारी गर्दै सडक स्तरोन्नती गरी १० मिटर फराकिलो बनाउने गरी निर्माण कार्य गर्नु पर्ने भएकाले सडकको केन्द्रबाट दायाँबायाँ ५/५ मिटर भित्र निर्माण भएका संरचना हटाउन अनुरोध गरेको छ ।

बाटो साँघुरो हुँदा विपतका बेला एम्बुलेन्स तथा दमकल समेत ओहोरदोहोर गर्न समस्या भएको भन्दै सडक स्तरोन्नती गरी फराकिलो बनाउन स्थानीयले पटक पटक माग गर्दै आएका छन् । सडक छेउमा बनाइएका संरचना अनुमति बेगर नै बनेकाले आफैले हटाएर सडक स्तरोन्नतीका लागि सहयोग गर्न अपील गरिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले १५ दिन भित्र सडक छेउमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन आग्रह गरे ।

सूचनामा भनिएको छ, ‘उक्त बाटोको साँधमा पर्ने जग्गा धनिहरुबाट प्रमाण पेश हुन आउँदा नक्सा पास नगराई संरचनाहरु अवैध रुपमा निर्माणहरु गरिएको देखिएको र सो बाँकी रहेको बाटो बिस्तार नहुँदा आवत जावत गर्न, विपतको बेलामा एम्बुलेन्स, दमकल आउन जान समेत समस्या परेको हुँदा उक्त टोल बासीको गुनासो आई राखेकोले सो सडकको केन्द्रबाट ५/५ मिटर दायाँ बायाँ गरि जम्मा १० मिटर भित्र पर्ने नक्सा पास नगरी अवैध रुपमा निमार्ण भएका भवनहरु (संरचनाहरु) यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र खाली गर्नु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

मुर्ली चोकदेखि नेपाल आयल निगमको क्षेत्रीय कार्यालय बाइपास निस्कने उक्त बाटो मध्ये चोकतर्फबाट सबाह अन्सारीको घरसम्म साँघुरो छ । त्यस पछि बाइपाससम्म भने यस अघि नै निर्माण भइसकेको छ ।

मुर्लीचोकदेखि सबाह अन्सारीको घरसम्मको सडक स्तरोन्नतीका लागि महानगरले शुक्रबार सूचना जारी गर्दै १५ दिन भित्र सडकको साँधमा निर्माण गरिएका संरचना हटाई सडक फराकिलो बनाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै